Saturday, January 2, 2010

राजधानी बाहिरका शक्तिपीठहरू



हिन्दूहरूको महान् चाड बडादसैंको सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व छ । धार्मिक आस्थासँग जोडिएकाले नै घटस्थापनादेखि धार्मिक विधिहरू अपनाएर यो चाड मनाइन्छ । दसैंमा विभिन्न शक्तिपीठमा निश्चित विधि तथा परम्पराअनुसार शक्तिको पूजा गरिन्छ । नौ स्वरूपकी भगवतीमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी एवं सिद्धिदात्रीलाई मानिन्छ । तिनै नौ स्वरूपकी भगवतीलाई समग्रमा नवदुर्गा भनिन्छ । घटस्थापनादेखि मुलुकभरका शक्तिपीठहरूमा भक्तजनको ओइरो लाग्छ । यी पीठहरूमा पूजा गर्नुको पछाडि अनेकां धार्मिक विश्वास र किंवदन्ती जोडिएका छन् । पूजा गर्न शक्तिपीठहरूमा जाने चलन भए पनि सवै शक्तिपीठको परम्परा भने एउटै छैन ।

एकथरी मान्यताअनुसार सतीदेवीको अंग पतन भएको स्थान नै शक्तिपीठ हो । रुखको ओत भएको, मसानघाट नजिकै भएको, अष्टमातृकाको बसोबास भएको स्थानलाई शक्तिपीठ मानिनुपर्ने तर्क पनि अर्कातिर छ । त्यसैले शक्तिपीठहरूका बारेमा एउटै धारणा पाइँदैन ।

काठमाडौंमा यस्ता शक्तिपीठहरू धेरै भए पनि राजाको सवारी हुने नौ वटा मन्दिरलाई शक्तिपीठ मानिँदै आएको छ । उपत्यकाबाहिर पनि थुप्रै शक्तिपीठ छन् । यी शक्तिपीठहरूमा दसैंमा विशेष पूजा गरी बलि दिने चलन छ ।

दन्तकालीः सुनसरी जिल्लाको धरानमा दन्तकालीको मन्दिर छ । यहाँ सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ । दन्तकालीमा घटस्थापनादेखि नै विशेष पूजा-आराधना हुन्छ । यो अवसरमा स्थानीय भक्तजनहरूको ठूलो भीड लाग्छ ।

जालपादेवीः जालपादेवीको मन्दिर नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि ८ किलोमिटर दक्षिणमा छ । त्रिशूली नदीको किनारमा रहेको जालपादेवीको मन्दिर रहेको स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम कामधेनु गाईले पूजा गरेको मानिन्छ । पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएकोले नेपालको इतिहासमा यसको विशेष महत्व छ । यहाँ घटस्थापनादेखि नै भक्तजनको ओइरो लाग्छ ।

छत्रेश्वरीः सल्यान जिल्लाको छायाक्षेत्रस्थित छत्रेश्वरी मन्दिरमा सतीदेवीका शेष रहेका सबै अंग पतन भएको विश्वास गरिन्छ । त्यसो त छत्रेश्वरी नेपालका सबै शक्तिपीठमध्ये बलि नचढाइने एकमात्र शक्तिपीठ हो । सबैभन्दा पहिले अष्टभैरवले पूजा गरेकाले यहाँ कुनै अवसरमा पनि बलि चढाइँदैन । पूजाकै लागि यहाँ छिमेकी जिल्लाहरूबाट पनि भक्तजनको भीड लाग्छ ।

मनोकामनाः गोरखाको मनोकामना पनि महत्वपूर्ण देवीस्थान मानिन्छ । दसैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ । यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ । मनोकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । केबुलकारबाट ११ मिनेटमै मनोकामना पुग्न सकिन्छ । पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनोकामना पुग्छन् ।

कमलाक्षीः सल्यान जिल्लाको लक्ष्मीपुरमा कमलाक्षीको मन्दिर छ । यहाँ सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम योगमार्गीहरूले पूजा-आराधना गरेका थिए । एउटा पहाडका रूपमा रहेको यो मन्दिरमा करङको आकृति देखिन्छ ।

गलेश्वरीः म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनारमा छ-गलेश्वरी मन्दिर । यहाँ सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ ।
ज्वालपादेवीः यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि ५ किलोमिटर पश्चिम र छामगाम खोलाको किनारमा छ । यहाँ सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम हनुमानले पूजा गरेको विश्वास गरिन्छ ।

बागेश्वरीः बाँके जिल्लाको नेपालगञ्जस्थित यो मन्दिर रहेको ठाउँमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम किन्नरहरूले पूजा-आराधना गरेका थिए । एउटा ठूलो तलाउको किनारमा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपालमा गाभिएपछि मात्र पत्ता लागेको हो

देवलहाट मन्दिरः बैतडीको सदरमुकामबाट ५ सय मिटर दूरीमा रहेको देवलहाटको मन्दिर पाण्डवहरूले वनवासको अन्त्यतिर बनाउन लगाएको जनश्रुति छ । युद्धका बेला पाण्डवहरूले असत्यमाथि विजय गर्न पाऊँ भन्ने कामना गर्दै यो मन्दिर बनाएका थिए । विभिन्न समयमा चढाइएका तामाका भाँडा एवं पूराना मूर्ति यो मन्दिरका विशेषता हुन् ।

गजरा मन्दिरः दसैंमा ठूलो भीड लाग्ने गजरा मन्दिर अछाम जिल्लाको गजरामा छ । जुम्लाका तत्कालीन राजाले अछाम जित्न यही मन्दिरमा पूजाआजा गरेको कुरा इतिहासमा उल्लेख छ । कुनै महत्वपूर्ण काम गर्नुपर्‍यो भने अछामवासीहरू यो मन्दिरमा पूजा गर्छन् ।

मालिकादेवीः बाजुरा जिल्लाको १४ हजार ४ सय फिट उचाइमा मालिकादेवीको मन्दिर छ । यहाँनिकै पहिलेदेखि नै शक्तिकेन्द्रका रूपमा पूजा गरिँदै आएको छ ।

कालिकादेवीः लमजुङको बेसीसहरबाट

२ घन्टा उकालो चढेपछि पुगिने


कालिकोदेवीको मन्दिरमा महानवमीका दिन विशेष पूजाआजा हुन्छ । यसलाई लमजुङ कालिका पनि भनिन्छ ।

सुर्मासरोवरः बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट तीन दिनको दूरीमा रहेको सुर्मा एउटा सानो ताल हो । यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ । बझाङवासीहरू साउनको एकादशीदेखि त्रयोदशीसम्म त्यही ओडारमा बसेर स्नान गर्छन् । त्यहाँ जलदेवीको वासस्थान छ भन्ने भनाइ छ ।

बडी मालिकास्थानः कालिकोट जिल्लास्थित बडी मालिका मन्दिर मार्तडीबाट तीन दिनको पैदलयात्रापछि पुगिन्छ । १२ हजार २ सय १९ फिट उचाइमा अवस्थित यो मन्दिरमा दसंै र चैतेदसैंमा ठूलो मेला लाग्छ । यहाँ अष्टमीमा बलि दिएर टीका भेट्न घर पुग्ने चलन छ ।

चन्दननाथः जुम्लाको खलङ्गास्थित चन्दननाथको मन्दिर जुम्लाकै प्रसिद्ध मन्दिर हो । दत्तात्रय भनिने यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ । घटस्थापनाको दिन मन्दिरको लिङ्गो फेर्ने चलन छ । दसंैमा सामान्य घुइँचो लाग्ने यो मन्दिरमा तीज, शिवरात्रि तथा एकादशीमा मेला लाग्छ ।

त्रिपुरा सुन्दरीः डोल्पा जिल्लाको जुफाल एयरपोर्टबाट करिब दुई घन्टा पैदल हिँडेपछि भेरी नदी आउँछ । त्यही भेरी नदीको किनारमा प्रसिद्ध त्रिपुरासुन्दरीको मन्दिर छ । चैतेदसैं र बडादसैंमा ठूलो मेला लाग्ने यो मन्दिर डोल्पावासीको शक्तिकेन्द्र हो । यो मन्दिरमा पञ्चबलि दिने चलन छ ।

शिरस्थानः दैलेख बजारदेखि ५ किलोमिटर पश्चिममा पर्ने नाभी र छामखोलाको दोभानमा ज्वालादेवीको मन्दिर छ । स्थानीय बासिन्दाहरूले यसलाई शिरस्थानदेवी भन्छन् । नाभी र छामखोलाको दोभानमा सतीदेवीको शिर पतन भएको विश्वास गरिन्छ । यो मन्दिर २ सय वर्षअघि निर्माण भएको विश्वास गरिन्छ । सतीदेवीको अंग पतन भएकाले यहाँ दसंैमा मेला लाग्छ ।

खैरावाङः सल्यानको सदरमुकामबाट २० किलोमिटर टाढा रहेको खैरावाङ मन्दिर त्यस क्षेत्रको ठूलो शक्तिपीठ हो । ३ घन्टाको ठाडो उकालो हिँडेर पुगिने यो मन्दिरमा भुवनेश्वरी देवीको मूर्ति छ । त्यहाँ घटस्थापनादेखि पूणिर्मासम्म ठूलो मेला लाग्छ ।

देवीस्थानः बाग्लुङ बजारबाट २ किलोमिटर दक्षिणस्थित देवीस्थान मन्दिर राजा प्रतापनारायण मल्लकी रानीले पाल्पाबाट मूर्ति ल्याएर स्थापना गरेकी हुन् । यो मन्दिर शक्तिको प्रतीक भए पनि दसंैमा भन्दा चैते अष्टमीका दिन यहाँ बढी भक्तजन आउँछन् ।

माईपोखरीः इलामको उत्तरी क्षेत्रमा छ-माईपोखरी । यसको नवरात्रसँग नजिकको सम्बन्ध छ । नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरूपका रूपमा पूजा गरिन्छ । जसअन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ । हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीका नौवटै कुनामा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ ।

अर्घाकोटः अर्घाखाँचीको नरपानीबाट १६ किलोमिटर उत्तरमा भगवतीको एउटा मन्दिर छ । यो मन्दिर त्यस क्षेत्रको प्रसिद्ध मन्दिर हो । यो मन्दिरमा रामनवमी, कृष्णाष्टमी, तिहार, भाद्रकृष्णाष्टमी तथा शिवरात्रिमा मेला लाग्छ । दसंैमा यहाँ पशु बलि दिने चलन छ ।

त्रिवेणीः त्रिवेणी मन्दिर नवलपरासीको पञ्च, तमासा तथा नारायणी नदीको संगममा छ । माघे संक्रान्तिमा यहाँ विशेष मेला लाग्छ । बडादसैंको अष्टमीमा यहाँ नुहाइएन भने अर्को जन्ममा बोको भएर जन्म लिनुपर्छ भन्ने परम्परागत मान्यता रहेका कारण दसंैमा यहाँ नुहाउन आउनेहरूको भीड लाग्छ ।

कन्काई माईः झापाको प्रसिद्ध मन्दिर हो-कन्काई माई । यो मन्दिर सदरमुकाम चन्द्रगढीदेखि २८ किलोमिटर उत्तर-पश्चिम दिशामा छ । पूर्वाञ्चलका भक्तजनहरूले यो मन्दिरमा माघे संक्रान्ति तथा बडादसंैका दिन माई नदीमा नुहाएर दर्शन गर्छन् ।

स्वर्गद्वारीः प्यूठानको खलङ्गाबाट २६ किलोमिटर पश्चिममा छ-स्वर्गद्वारी मन्दिर । नेपालका प्राचीन मन्दिरहरूमध्ये एक मानिन्छ-यो मन्दिरलाई । यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्थे ।

पैक मन्दिरः जाजरकोटको खलङ्गाबाट ४८ किलोमिटर उत्तरमा रहेको बिजुलीडाँडामा एउटा मन्दिर छ । मस्टो मन्दिर भनेर चिनिने उक्त मन्दिर वरपर प्रशस्त त्रिशूल एवं घण्टहरू छन् । मन्दिरमा धामी बस्ने चलन पनि छ ।

छाब्दी बाराहीः तनहुँको दमौलीबाट ५ किलोमिटर टाढा छाब्दी बाराहीको मन्दिर छ । यो मन्दिरमा हाँस, परेवा एवं राँगाको बलि दिइन्छ ।

तौथलीमाईः सिन्धुपाल्चोकस्थित तौथलीमाईमा भाद्रपूणिर्मा र दसैंको टीकाका दिन भव्य मेला लाग्छ । यो मन्दिर चौताराबाट २२ किलोमिटर पूर्वमा पर्छ ।

विन्दवासिनी भगवतीः यो मन्दिर पर्साको वीरगन्जबाट १० किलोमिटरको उत्तर-पश्चिममा छ । यो मन्दिरलाई रणबहादुर शाहले स्थापना गरेका हुन् । यहाँ काटमार बढी हुन्छ ।

पलाञ्चोक भगवतीः पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लामा छ । काभ्रेको पाँचखालबाट ७ किलोमिटर पूर्वस्थित यो मन्दिर राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् ।

मैदीः यो मन्दिर धादिङ जिल्लामा छ । धादिङको बुङचुङबाट २ घन्टाको पैदल यात्राबाट पुगिने यो मन्दिर प्राचीनकालदेखि नै प्रसिद्ध छ । पृथ्वीनारायण शाहको व्रतबन्ध यही मन्दिरमा भएको थियो ।

त्रिवेणीः यो मन्दिर उदयपुरको कटारी बजारबाट ६ किलोमिटर पश्चिममा ककरु, तावा तथा कमला नदीको संगममा छ । यहाँ माघे संक्रान्तिका दिन मेला लाग्छ । त्रिवेणीमा दसंैको अष्टमीमा नुहाउने चलन छ ।

कोडकडेनीः ओखलढुंगा जिल्लाको सदरमुकाम ओखलढुंगादेखि ८ किलोमिटर पूर्वमा छ-कोडकडेनी मन्दिर । यो मन्दिर पृथ्वीनारायण शाहका फौजी रामकृष्ण कुँवरले निर्माण गर्न लगाइएको मानिन्छ । आफ्नो पूर्व विजय अभियानअन्तर्गत यही मन्दिरमा देवीको उपासना गरी उनी विजययात्रामा निस्किएका थिए ।

छिन्ताङः धनकुटा जिल्लाकै प्रसिद्ध देवस्थल हो-छिन्ताङ । यो मन्दिर धनकुटा बजारबाट १६ किलोमिटर पश्चिममा छ । यो मन्दिरलाई जालपादेवीको मन्दिर पनि भनिन्छ । यहाँ दसंैमा भव्य मेला लाग्छ ।

कालिकास्थानः विराटनगरस्थित कालिकास्थानमा दसैंमा विशेष चहलपहल देखिन्छ । यो दसैंमा पूजा हुने महत्वपूर्ण मन्दिर हो । यहाँ नवरात्रभरि भीड लाग्छ ।

पाथीभराः ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यहाँ सुकेटार एयरपोर्टबाट २ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि मेला लाग्छ ।

छिन्नमस्ता भगवतीः सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने छिन्नमस्ता भगवतीको मन्दिरमा वर्षैभरि बलि दिइन्छ । यहाँ दसैंमा विशेष भीड लाग्छ । छिन्नमस्ता भगवतीप्रति नेपाल-भारतका जनताको ठूलो आस्था छ ।

No comments:

Post a Comment